रामवन,मंसिर –२२, निकै चासोकासाथ हेरिएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशनको मतपरिणाम सर्वाजनिक भएको छ ।
मतपरिणाम अनुसार सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद डा. अमरेश कुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
त्याहाँ संस्थापन पक्षका प्रदेश नं.२ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र संस्थापन इतर पक्षका सांसद डा. अमरेश कुमार सिंह बिच प्रतिस्पर्धा भएको थियो । त्याहाँ मन्त्री सिंहको प्यानलनै निर्वाचित भएको बताईएको छ ।
प्रतिस्पर्धामा सर्लाहीको क्षेत्र नं. ४ को क्षेत्रीय क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित भएका छन् ।
वुधबार बिहान सम्पन्न मतगणनामा सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा चयन भएका हुन् । संस्थापन पक्षका साहले ५१७ मत ल्याउँदा संस्थापन इतर पक्षका सहनीले २२७ मत मात्रै प्राप्त गरेका थिए ।

धनकौल गाउँपालिकाको अध्यक्ष समेत रहेका साह यस अघि पनि क्षेत्रीय सभापति रहेका थिए । बिजयी साह संस्थापन पक्षका वीरेन्द्र प्रसाद सिंह र पराजित भएका सहनी संस्थापन इतर पक्षका डा. अमरेश कुमार सिंहको तर्फबाट उम्मेदवार हुन । क्षेत्र नं. ४ को हिजो(मंगलवार )गोडैतास्थित रामवनमा मतदान भएको थियो ।
यस्तै, ईश्वरपुरस्थित बयलवासमा जारी क्षेत्र नं. १ को अधिवेशनमा अहिले मतगणना चलिरहेको छ । १ नम्वरमा संस्थापनबाट कुवेर आचार्य र इतर पक्षबाट हरि लुंगेली सभापतिको उम्मेदवार छन् ।
मतगणना जारी रहँदा दुवै पक्षले मिश्रित नतिजा ल्याइरहेका छन् । यस्तै, बरहथवामा चलिरहेको ३ नम्वर क्षेत्रको क्षेत्रीय अधिवेशन अन्तर्गत बुधवार मतदान हुँदै छ । मंगलबार त्यहाँ राती अबेरसम्ममा उम्मेदवारहरुको मनोनयन दर्ता भएको थियो ।
उता, सदरमुकाम मलंगवामा राखिएको क्षेत्र नं. २ को अधिवेशनमा भने अझै विवाद नै छ । त्यहाँ मंगलबार निर्वाचन अधिकृतले मतदान अधिकृत बिरामी परेको भन्दै बुधबारका लागि अधिवेशन सारेका थिए ।