बलरा,मंसिर – १३,सर्लाही क्षेत्र नं ४ मा आजा पनि
झडप भएको छ ।
नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार ( आज ) पनि भएको हाे । झडपमा परि मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।
बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो भने संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो । त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो । कांग्रेस कार्यकर्ताले प्रहरी र मतदान अधिकृतमाथि नै आक्रमण गरेपछि झडप भएको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
मतदान अधिकृत झाको टाउकोमा चोट लागेको छ । यस्तै, प्रहरी निरीक्षक सुरेश ठाकुरसहित 3 जना प्रहरी पनि घाइते भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
‘विवाद उत्पन्न भएपछि कांग्रेसको एक पक्षले जबरजस्ती मतदान अधिकृतलाई लैजान खोज्दा प्रहरीले रोक्यो, त्यसक्रममा उनीहरुले ढुंगामुढा गर्न थाले,’ एसपी प्रसाईंले भने, ‘स्थिती नियन्त्रणमा लिनका लागि केही राउण्ड अश्रुग्यास प्रहार भएको छ, अहिले अवस्था सामान्य छ, घाइतेको पनि उपचार भइरहेको छ ।’
यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले एक राउण्ड हवाइ फायर गरेका थिए ।