सर्लाही, बैशाख- १ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा पछिल्ला दिनहरूमा भएका दुईवटा छुट्टाछुट्टै घटनाले नगर कार्यपालिकाको कामकाज प्रभावित भएको छ।
कर्मचारीहरूले भय र असुरक्षाको वातावरण सिर्जना भएको भन्दै, विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेका छन् । उनीहरूले संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।
गत चैत २५ गते केही व्यक्तिहरूको समूह नगरपालिकाको कार्यालयमा प्रवेश गरी डर त्रासको वातावरण सिर्जना गर्दै नियमित कामकाज अवरुद्ध पारेका प्रेस विज्ञप्तिमा उल्लेख छ।उक्त समूहले कार्यालयमा ताल्चा समेत लगाएका थिए । घटनापछि पनि स्थिति सामान्य हुन नपाउँदै चैत ३० गते पुनः बिहान करिब ११स्३० बजे पुनः एक समूह नगरपालिका कार्यालय परिसरमा प्रवेश गरी तोडफोडमा उत्रिएको उल्लेख छ।
उक्त समूहले नगर प्रमुख विनोद कुमार साहमाथि ज्यान मार्ने उद्देश्य राखी आक्रमण प्रयास गरेको र त्यहाँ उपस्थित राष्ट्रसेवक महिला कर्मचारीसमेत माथि हातपात गरेको विज्ञप्तिमार्फ आरोप लगाइएको छ। साथै आक्रमणकारीहरूले कालो मसि र पेट्रोल छर्केर थप अप्रिय घटना गराउने मनसाय देखाएको कर्मचारीहरूको भनाइ छ।
घटनाहरूका कारण नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा भय त्रास र असुरक्षाको अवस्था सृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। “यस प्रकारका आपराधिक गतिविधिले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको मनोबल कमजोर बनाएको छ,” विज्ञप्तिमा भनिएको छ।
कर्मचारीहरूले सरकार र सम्बन्धित सुरक्षा निकायलाई घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तुरुन्तै कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन्। साथै, सार्वजनिक सेवा सञ्चालनमा खटिएका कर्मचारीहरूलाई निर्भिकतापूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरिएको छ।
नगरपालिकाका कर्मचारीहरूले यस्ता गतिविधिहरू दोहोरिन नदिन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। “यदि सुरक्षित र त्रासरहित ढंगबाट काम गर्ने वातावरण नभए कर्मचारीहरूले नियमित कामकाज सञ्चालन गर्न असमर्थ हुने अवस्था आउन सक्छ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।
प्रेस विज्ञप्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सर्लाही तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समेत बोधार्थ पठाइएको जनाइएको छ। कर्मचारीहरूले राज्यका निकायहरूलाई घटनाको गम्भीरता बुझेर शीघ्र हस्तक्षेप गर्न आग्रह गरेका छन्।









