काठमाडौँ,पुस-२६, चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुद्रास्फीतिले अनुमानित सीमा नाघेर ६ प्रतिशतभन्दा माथि गएको छ भने खाद्य वस्तुको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको गत मंसिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ०५ प्रतिशत रहेको छ।


अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको थियो। चालू आवमा मुद्रास्फीति ५ दशमलव ५ प्रतिशत सीमाभित्र राख्ने सरकारको लक्ष्य छ।
गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ। गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९२ प्रतिशत रहेको छ।
अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४ दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ७० प्रतिशत र घ्यू तथा तेलको ९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ।


मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७ दशमलव ९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७ दशमलव ०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ।
गत मङ्सिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ भने शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ।
प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ३६, मधेश प्रदेशको ६ दशमलव ७७, बागमती प्रदेशको ५ दशमलव ८४, गण्डकी प्रदेशको ४ दशमलव ८१, लुम्बिनी प्रदेशको ५ दशमलव ५३, कर्णाली प्रदेशको ४ दशमलव १९ र सुदूरपश्चिम प्रदेशको ६ दशमलव ६६ प्रतिशत रहेको छ।


यस अवधिमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ८२, तराईको ६ दशमलव ३१, पहाडको ५ दशमलव ६५ र हिमालको ६ दशमलव ५८ प्रतिशत रहेको छ।
गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६ दशमलव ५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २ दशमलव ६३ प्रतिशत रहेको थियो। यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव १४ प्रतिशतले घटेको छ।