प्रतिकात्मक तस्विर ।

सर्लाही, वैशाख ३० – सर्लाहीमा आज हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
। जिल्लाभर रहेका ५९९ वटै मतदान केन्द्रमा मतदानस्थल (बुथ) निर्माणसहित अन्य तयारीको काम समेत भइसकेको कार्यालयले जनाएको छ ।

अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । मतदानका लागि मतदाता नामावलीमा नमभएका र परिचय पत्र नभएका अथवा हराएकाले आफ्नो परिचय खुल्ने नागरिकता,राष्ट्रिय परिचयपत्र,राहदानी वा जग्ग धनी पूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न सक्ने निवार्चन आयोगले जनाएको छ ।


यता मतदान सकिएपछि हुने मतगणनाका लागि जिल्लाको अधिकांश पालिकामा तारजाली हालेर मतगणनास्थल तयार पारिएको छ ।
मतदान सम्पन्न भएपश्चात जिल्लाको ११ वटा नगरपालिका र नौवटा गाउँपालिकाको कार्यालय रहेको भवनमा मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका केहि ठाउँबाहेक धेरैजसो पालिकामा तारजाली हालेर मतगणनास्थल तयार पारिएको हो । सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले सबै मतगणनास्थलमा सीसी क्यामेरा समेत जडान गरिएको जानकारी दिए । मुख्य निर्वाचन अधिकृत पियाका अनुसार सर्लाहीमा मतगणनास्थल निर्माणसँगै शुक्रवार (आज) हुने मतदानको समेत सम्पूर्ण तयारी पूरा भएको हो ।
यस्तै, मतदान केन्द्रहरुमा मतपत्रसहितका सम्पूर्ण निर्वाचन सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, मतदान अधिकृतसहितका अन्य कर्मचारी र सुरक्षाकर्मी पनि शुक्रबारको मतदान कार्यलाई सम्पन्न गराउन तयारी अवस्थामा रहेका छन् । शुक्रबारको निर्वाचनमा सर्लाही जिल्लाभर चार लाख ७४ हजार ४३९ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्दै छन् ।
मतदानलाई लक्षित गर्दै सर्लाही जिल्लाभर सुरक्षा सतर्कता बढाइएको छ । मतदान केन्द्रहरुमा नेपाल प्रहरी र म्यादी प्रहरी तैनाथ छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था कडा परिएको बताए ।